
अबिरल वर्षापछि आएको बाढी र पहिरोमा परि भारतको सिक्किम र असम राज्यमा कम्तीमा ३० जनाको ज्यान गएको छ। सिक्किम राज्यमा गएको पहिरो सेनाको क्याम्पमा खस्दा तीन जना सैनिकको मृत्यु भएको र अन्य ६ जना बेपत्ता भएको भारतीय सेनाले विज्ञप्तिमार्फत जनाएको छ।
यसैबीच, पूर्वोत्तर भारतको असम राज्यमा मनसुनी वर्षाका कारण उत्पन्न बाढी र पहिरोले १५ जिल्लाका करिब एक लाख मानिस प्रभावित भएका छन्। असमका १२ जिल्लाका १ सय ७५ गाउँ डुबानमा परेका छन् भने सडक र रेल सेवा पूर्णरूपमा अवरुद्ध भएका छन्।
उत्तरसिक्किमको लाचेन र लाचुङ क्षेत्रमा सडक अवरुद्ध हुँदा १,५०० भन्दा बढी पर्यटक अलपत्र परेका छन्। सरकारले उद्धार र राहतका कार्यलाई तीव्र बनाएको जनाएको छ। मौसम विभागले अझै केही दिन भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ।