
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी केही दिनको लागि कोशी प्रदेश आइपुगेकी छिन् । चीनको भ्रमण सके लगत्तै उनको यो पहिलो औपचारिक भ्रमण हो । आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले “यसपटकको भ्रमण अघिल्ला भन्दा बढी चर्चा हुने” दाबी गरिन्। भण्डारी भोलीबाट विराटनगरमा सुरु हुने देशभरिका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरूको दुईदिने राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिका रूपमा भाग लिन आएकी हुन्।
यद्यपि यो भ्रमण केवल कार्यक्रममा सीमित नरही राजनीतिक उद्देश्यसहित भएको आशंका पनि गरिएको छ। यसअघि विराटनगर आइपुगेकी भण्डारीले एमाले नेताहरू सँगको एकपछि अर्को भेटवार्ता गरेका कारण उनी पार्टी नेतृत्वमा सक्रिय हुने अड्कल काटिएको थियो। उनका समर्थकहरू आगामी महाधिवेशनमा उनी पार्टी अध्यक्षको दावेदार भएर आउने अपेक्षामा छन् । एमाले मोरङ र विराटनगर अधिवेशनमा केपी ओली इतर समूहको विजयसँगै भण्डारीको प्रभावलाई त्यससँग जोडिएको छ।
भण्डारीले चीन भ्रमणबारे पनि स्पष्ट पार्दै भनिन्, “म कार्यक्रमका सिलसिलामा चीन गएको थिएँ, त्योबाहेक बाहिर भएका हल्लाहरू निराधार छन्।” उनले कम्युनिस्ट एकता र चीनको सन्देशबारे उछालिएको चर्चालाई पनि ‘राजनीतिक व्याख्या’को रूपमा खण्डन गरिन्।
विराटनगर विमानस्थलमा उनलाई एमाले उपाध्यक्ष गुरु बराल, प्रदेश इञ्चार्ज शेरधन राई, तथा नेता विनोद ढकालले स्वागत गरेका थिए। यी सबै नेताहरू भण्डारी निकट नेताका रूपमा चिनिन्छन्। ढकाल खुलेरै उनलाई पार्टीको भावी नेतृत्वका लागि अघि सारिरहेका छन्, भने बराल र राई खुलेर नबोले पनि समर्थन रहेको चर्चा छ।
भोलिदेखि सुरु हुने सम्मेलनमा सहभागी भएपछि भण्डारी झापा प्रस्थान गर्नेछिन्। झापामा उनी पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने र २४ गते प्रविधिसँग बालबालिका विषयक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। २५ गते महिलाहरूले आयोजना गर्ने एक कार्यक्रममा सहभागी भएर उनी काठमाडौं फर्किने बताइएको छ।
भण्डारीको यो सक्रियता एमालेको भावी राजनीतिक समीकरणसँग जोडिएको छ। कोशी भ्रमणले उनको भूमिका, प्रभाव र आगामी योजनाको संकेत दिइरहेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।