
काठमाडौं, जेठ १६ । सरकारले वृद्धभत्ता पाउने न्यूनतम उमेर हद बढाउँदै अब ७० वर्ष पुरा भएका नागरिकलाई मात्र भत्ता दिने व्यवस्था गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट प्रस्तुत गर्दै सो निर्णय सार्वजनिक गरेका हुन्।
‘उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई दृष्टिगत गरी अबदेखि ७० वर्ष पुगेका नागरिकले मात्र वृद्धभत्ता पाउनेछन्,’ अर्थमन्त्री पौडेलले भने, ‘हाल भत्ता पाउँदै आएका नागरिक, दुर्गम क्षेत्र र लक्षित वर्गमा परेका ज्येष्ठ नागरिकका हकमा भने भत्ता पाउने उमेर यथावत् रहनेछ।’
हालसम्म सरकारले ६८ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिँदै आएको थियो। तर आगामी आर्थिक वर्षदेखि साधारण नागरिकका हकमा यो उमेर ७० वर्षमा पुर्याइने भएको हो।