काठमाडौँ । नेकपा एमालेले चीनको बीवाईडी (BYD) गाडीसम्बन्धी कर प्रकरणलाई लिएर गम्भीर आरोप लगाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले आर्थिक विधेयक संसद् छलेर हेरफेर गरिएको दाबी गर्दै यसलाई “घोटाला” भएको बताएकी छन् ।
उनका अनुसार आर्थिक विधेयकका करिब १६ पृष्ठसम्मका करका दरहरू परिवर्तन गरिएको छ, जसले कर नीतिमा अनियमितता भएको संकेत गर्छ ।
सांसद अर्यालले भनिन्, “करका दर रेटहरू फेरबदल गरियो । चाइनाको बीवाईडी गाडीको घोटाला भएको कुरा सडकभरि छताछुल्ल भएको छ । भन्सारलाई सेटिङ मिलाएर, कागज मिलाएर, गाडी नआउँदै रातारात घोटालाको खेल भएको छ ।”
उनले थप आरोप लगाउँदै भनिन्, बीवाईडी गाडी प्रकरणमा शंका मात्रै नभई स्पष्ट संकेत देखिएको र घोटाला भएको “ठोकेर भन्न सकिने अवस्था” रहेको छ ।
अर्यालले आर्थिक नीतिमा गरिएको परिवर्तनको उद्देश्यमाथि पनि प्रश्न उठाउँदै भनिन्, “संसद्मा एउटा अङ्क राख्ने, मन्त्रालय फर्केर अर्को अङ्क राख्ने काम किन गरिन्छ ? यो कसको फाइदाका लागि हो ?”
उनका अनुसार यस्तो प्रकारको कर हेरफेर आर्थिक अपराध सरह हो र यसबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने आवश्यकता छ ।