विराटनगर । लायन्स क्लब अफ विराटनगर सोसलले सामाजिक उत्तरदायित्वअन्तर्गत एकै दिन दुईवटा सामाजिक कार्यक्रम सम्पन्न गरेको छ। क्लबले विराटनगरमा लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम तथा सुनवर्षी नगरपालिकामा शारीरिक रूपमा अशक्त दुई जनालाई ह्विलचेयर वितरण गरेको हो ।
क्लबले बिहीवार सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीको सहकार्यमा विराटनगर–२, शंकरपुरस्थित जनता नमुना माध्यमिक विद्यालयमा लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा लायन्स क्लब मल्टिपलका काउन्सिल सदस्य ला. लिला ढुंगेल, डिस्ट्रिक्ट ३२५ सीका फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर रमेश खत्री, पीडीजी रेवतबहादुर कार्की, एरिया चिफ चन्द्र अधिकारी तथा जोन चेयरपर्सन सुवास रिजाललगायतको सहभागिता थियो । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजन महतराले विद्यार्थीहरूलाई लागूऔषधको प्रयोगबाट हुने असर तथा त्यसबाट बच्ने उपायबारे जानकारी दिँदै प्रशिक्षणमूलक सचेतना प्रदान गरेका थिए ।
यसैगरी, क्लबले सुनवर्षी नगरपालिकाका दुई जना शारीरिक रूपमा अशक्त व्यक्तिलाई दुई थान ह्विलचेयर वितरण गरेको छ। वडा नम्बर ५ झुंगीटोलका मानिकचन्द ऋषिदेव र वडा नम्बर २ अमरदहका हरिलाल ऋषिदेवलाई ह्विलचेयर प्रदान गरिएको हो ।
ह्विलचेयर वितरण कार्यक्रममा कोशी प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारी, लायन्स क्लब मल्टिपलका काउन्सिल सदस्य लिला ढुंगेललगायत क्लबका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
दुवै कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ विराटनगर सोसलका अध्यक्ष देवकीनन्दन अग्रवालले गरेका थिए । क्लबले सामाजिक सेवाका विभिन्न गतिविधिलाई निरन्तरता दिँदै आएको क्लबका सचिव प्रकाश शर्माले जानकारी दिए ।
