२६ फाल्गुण २०८२, मंगलबार

एमालेमा नेतृत्व परिवर्तनको बहस, विशेष महाधिवेशनको सम्भावना

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ । पार्टी उपाध्यक्ष विष्णु पौडेलले निर्वाचन परिणामपछि नेतृत्व, नीति र संगठनको समग्र समीक्षा गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि एमालेभित्र नयाँ बहस सुरु भएको हो।

रुपन्देही–२ बाट पराजित भएका पौडेलले पार्टीलाई जनअपेक्षाअनुसार रुपान्तरण गर्न आवश्यक रहेको बताएका छन्। उनले पार्टीको नीति, नेतृत्व र कार्यशैली पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याउँदै यसका लागि पहल गर्ने संकेत दिएका छन्। पौडेलनिकट स्रोतका अनुसार उनले केही पदाधिकारी र नेताहरूसँग अनौपचारिक छलफलसमेत गरिरहेका छन्।

पार्टीभित्र अहिले नेतृत्व परिवर्तनको विषय ओलीविरोधी समूहबाट मात्र होइन, ओलीनिकट नेताहरूबाट समेत उठ्न थालेको बताइन्छ। यसक्रममा केही नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने धारणा व्यक्त गरेका छन्। उनीहरूका अनुसार पार्टीको शर्मनाक हारपछि नेतृत्वले जिम्मेवारी लिनु आवश्यक छ।

एमाले स्रोतका अनुसार पार्टीको नीतिगत कमजोरी, टिकट वितरण र नेतृत्वको कार्यशैलीबारे समीक्षा गर्दै विस्तृत दस्तावेज तयार गर्ने तयारी भइरहेको छ। उक्त दस्तावेज पार्टीभित्र छलफलका लागि लैजाने योजना बनाइएको छ।

पार्टी विधानअनुसार बहुमत महाधिवेशन प्रतिनिधि परिषद् सदस्यले माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था छ। त्यसैले आवश्यक परे नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्न सक्ने सम्भावना देखिएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]