विराटनगर । संविधान दिवस २०८३ को अवसरमा नेकपा एमाले मोरङले शनिबार साँझ पार्टी कार्यालय पञ्चलीमा दीप प्रज्वलन गरेको छ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य परशुराम बस्नेत, केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरीलगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य परशुराम बस्नेतले अहिले नेकपा एमालेलाई अझ बढी एकताबद्ध बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
उहाँले नेकपा एमाले कमजोर हुँदा मुलुकमा समेत समस्या उत्पन्न हुने गरेको उल्लेख गर्दै पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरी अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
बस्नेतले संविधानको रक्षा, राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि एमालेले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा सहभागी एमाले नेता तथा कार्यकर्ताले संविधान दिवसको अवसरमा दीप प्रज्वलन गर्दै संविधानको संरक्षण र कार्यान्वयनप्रति प्रतिबद्धता व्यक्त गरेका थिए।