०५ फाल्गुण २०८२, मंगलबार

शोकमा रहेका ढकालले कोराबाटै सार्वजनिक गरे प्रतिवद्धतापत्र

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेकपा (एमाले) का नेता विनोद ढकालले बुवाको निधनपछि किरियामा बसेकै अवस्थामा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

विराटनगर–५ स्थित घरमा आज आयोजित कार्यक्रममा क्षेत्रको समग्र विकास समेटिएको ३० बुँदे योजना सार्वजनिक गरिएको हो । बुवाको निधनका कारण किरिया (कोरा) मा रहेका ढकालले आफू व्यक्तिगत पीडामा भए पनि जनताप्रतिको जिम्मेवारी र निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रतिबद्धता पत्र ल्याएका हुन् ।

ढकालको तर्फबाट एमाले नेता सत्यनारायण चौधरीले प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए भने चुनावी कमान्डर एवं पूर्वमन्त्री लालबाबु पण्डितले पत्रकारहरूसँग सवाल जवाफ गरेका थिए ।

यस्ता छन् ढकालका प्रतिबद्धता

विराटनगरको मुख्य समस्याका रूपमा रहेको ढल निकास र डुबान समाधानका लागि गुरुयोजना निर्माण चक्रपथसहितका प्रमुख सडकलाई कालोपत्रे गर्ने र गछिया, बुढीखोला, केशलिया तथा सिङ्गिया नदी नियन्त्रणका लागि विशेष तटबन्ध योजना अघि बढाउने उनले प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

यस्तै जेन-जी’ (नयाँ पुस्ता) लक्षित प्रविधिमैत्री सिकाइ, स्मार्ट क्लासरुम र ‘पढ्दै–कमाउँदै’ कार्यक्रम लागू गर्ने । मदरसा, गुरुकुल र धार्मिक विद्यालयलाई मूलधारको शैक्षिक कार्यक्रममा जोड्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

यसैगरी बन्द तथा रुग्ण उद्योग पुनस् सञ्चालन गर्ने र साना तथा घरेलु उद्योगको प्रवर्द्धन गरी मजदुरहरूको हकहित सुनिश्चित गर्ने पत्रमा उल्लेख छ ।

उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा विपन्न नागरिकलाई सरकारी तथा निजी अस्पतालमा सहज उपचारको व्यवस्था गर्ने , किसानलाई समयमै मल, बीउ र सिँचाइको सुनिश्चितता गर्दै अर्ग्यानिक खेती र शीत भण्डार (कोल्ड स्टोर) निर्माणमा जोड दिने उल्लेख छ ।

मोरङ–६ मा एमालेका ढकालसहित नेपाली कांग्रेसका डा. शेखर कोइराला राष्ट्रिय स्वतन्त्र पार्टीका रुबिना आचार्य नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्र राय सहित १७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]