
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ताको भावनाअनुरुप राजनीतिक दलहरूले आफूलाई परिमार्जन गर्दै जनतामाझ जानुपर्ने बताएका छन् ।
भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका कांग्रेस र एमाले कार्यालयको अवलोकनपछि उनले सार्वजनिक सम्पत्ति नष्ट गर्नु जेनजीको माग र भावना विपरीत भएको दाबी गरे ।
कार्यक्रममा मा कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले लोकतन्त्रवादी दलबीच सहकार्य र दलभित्र एकताको आवश्यकता औंल्याए । उनले जेनजी प्रदर्शनमा घुसपैठ भएको भन्दै लुटपाट र आगजनीका घटनाका योजनाकार समयक्रममा बाहिर आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमालेका प्रेम गिरी र पूर्वसांसद हरिचरण शिवाकोटीले दलहरूको भावी कार्ययोजना बारे जिज्ञासा राखेका थिए । आगजनीबाट कांग्रेस जिल्ला पार्टी कार्यालय झापामा करिब १० लाख रुपैयाँभन्दा बढी क्षति भएको सचिव जयकुमार दाहालले बताए ।