
काठमाडौँ, साउन ७ — नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निलम्बित सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको मुद्दामा साउन १८ गतेका लागि पेसी तोकिएको छ ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार जाहेरीवाला र साक्षीका बयान सकिएसँगै मुद्दाको आगामी सुनुवाइका लागि साउन १८ गते मिति तोकिएको हो ।
‘ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी’ मुद्दामा साक्षीका रूपमा बयान दिएका प्रेमराज पन्थीले जाहेरीमा उल्लेखित विवरणहरू आफूसँग सम्बन्धित नभएको स्पष्ट गर्दै तत्कालीन अवस्थामा जिल्ला प्रहरी कार्यालय टेकुमा मात्र हस्ताक्षर गरेको बताएका छन् । उनले पूर्वमन्त्री रायमाझी र उनका स्वकीय सचिव लीला जिसीसँग कुनै पनि भेटघाट नभएको र एभरेष्ट होटलमा सानु भण्डारीसँग मात्र भेट भएको उल्लेख गरेका छन् ।
रायमाझीको मुद्दा झन्डै २९ महिनादेखि विचाराधीन अवस्थामा रहेको छ । प्रमुख प्रतिवादीमा केशवप्रसाद दुलाल, सानु भण्डारी र सन्देश शर्मा रहेका छन् भने रायमाझीलाई सह–प्रतिवादीका रूपमा राखी २०८० वैशाख ३१ गते पक्राउ गरिएको थियो ।
जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले २०८० असार १ गते रायमाझीसहितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध उच्च अदालत र सर्वोच्च अदालतमा निवेदन दर्ता गरिए पनि जिल्ला अदालतकै फैसला सदर भएको थियो ।
सोही मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाँण, रायमाझीका छोरा सन्दीप रायमाझी, आङतावा शेर्पा र गोविन्द चौधरी भने सर्वोच्च अदालतको आदेशपछि धरौटीमा रिहा भइसकेका छन् । मुद्दामा सहप्रतिवादी रहेका टेकनाथ रिजाललाई उच्च अदालत, पाटनले मानसिक रोगी ठहर गरेको छ ।