
काठमाडौं । लोकप्रिय गायक खेम सेन्चुरी क्यानडा, इजरायल र अस्ट्रेलियाको एक महिनाको सांगीतिक यात्राका लागि बिदा हुदै थिए । तर, दिल्ली हुँदै क्यानडा उडान चढ्नुअघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्री प्रतीक्षालयमा उनी अचानक बिरामी परे ।
निकटस्थ शम्भु कुँवरका अनुसार खेमलाई पेटमा समस्या देखिएपछि तत्कालै सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था अहिले क्रमिक सुधार हुँदै गएको जनाइएको छ ।
खेम सेन्चुरीले अगस्ट ९ मा क्यानडामा हुने “हिमालयन मेला” मा प्रस्तुति दिने योजना बनाएका थिए । तर, स्वास्थ्य समस्याका कारण त्यो कार्यक्रममा उपस्थित हुन नसक्ने पक्का भएको छ ।
यद्यपि, चिकित्सकको सल्लाहअनुसार उनी बाँकी तालिकाअनुसारको कार्यक्रममा सहभागी हुने तयारीमा रहेको पनि स्रोतले जनाएको छ ।