
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै पार्टीभित्र आफूबाहेक अरु कोही जान्ने र सुन्ने छैनन् भन्ने भ्रम ओलीलाई परेको टिप्पणी गरेकी छिन् ।
आज भंगालस्थित आफ्नै निवासमा केही पत्रकारसँग कुरा गर्दै भण्डारीले ४ साउनको च्यासल बैठक र पछिल्लो घटनाक्रमबारे प्रतिक्रिया दिँदै भनिन्, “पार्टीभित्र आफूबाहेक अरु केटाकेटी हुन् भन्ने सोच उहाँमा आएको जस्तो देखिन्छ ।”
भण्डारीले ओलीले पार्टी विधानमा रहेको दुई कार्यकाल र ७० वर्षे उमेरहदसम्बन्धी व्यवस्था आफैँ नेतृत्वमा पुगेपछि बिर्सिएको आरोप पनि लगाइन् । पार्टीमा फर्किने र सक्रिय राजनीतिमा आउनेबारे ओलीसँग पटक–पटक कुराकानी भएको स्मरण गर्दै भण्डारीले भनिन्, “१४ असारमा पनि म राष्ट्रिय सभागृहमा पार्टी सदस्यता नवीकरणको विषयमा सार्वजनिक रुपमा बोलेकी थिएँ । त्यसबेला अध्यक्षले हुन्न भन्नुभएको थिएन ।”
चीन भ्रमण अघि र पछि समेत ओलीसँग बालुवाटारमा हार्दिक संवाद भएको र राष्ट्रपतिको कार्यकाल सकिएको तीन महिनाभित्रै आफ्नो पार्टी सदस्यता नवीकरण गरेको जानकारी ओलीलाई दिएको पनि भण्डारीले बताइन् ।
४ साउनको च्यासल बैठकसमेत ओलीले टार्न खोजेको बताइन् । ओलीसँग बालुवाटार होइन, च्यासल पार्टी कार्यालयमै भेट गर्ने आफ्नो प्रस्तावमा ओली सहमत भएको भएपनि ओलीले अर्काे दिनलाई खोजेको बताइन् । आफूले २ बजे नै तयारी गरेको भए पनि अर्को दिन सार्ने प्रस्ताव आएको र त्यसलाई अस्वीकार गरेर सोही दिन भेट गर्ने अडान राखेको भन्दै उनले भनिन्, “त्यो दिन पनि ओली झन्डै १ घण्टा ढिलो च्यासल आउनुभयो र मलाई ३७ मिनेट कुर्नुपर्यो ।”
भण्डारीले ओलीको पछिल्लो अभिव्यक्तिहरूप्रति आश्चर्य व्यक्त गर्दै पार्टीभित्र भावी नेतृत्वका विषयमा पनि विगतमा ओलीसँग कुराकानी भएको बताइन् । “पार्टीमा कसैले पनि चलाउन सक्दैन भन्ने उहाँको भ्रम चिर्न अब आवश्यक छ,” भण्डारीले भनिन् ।