
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले नेकपा एमालेको नेतृत्वमा दाबी नछोड्ने स्पष्ट पारेकी छिन् । भण्डारी निवास भंगालमा केही पत्रकारसँग कुराकानी गर्दै उनले “म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ” भन्दै एमाले नेतृत्वको दौडबाट पछि नहट्ने दृढता व्यक्त गरेकी हुन् ।
एमालेको सक्रिय राजनीतिमा फर्किने भण्डारीको निर्णयसँगै पार्टीको आन्तरिक राजनीति थप पेचिलो बन्दै गएको छ । हाल काठमाडौंमा जारी एमालेको नवौं केन्द्रीय समिति बैठकमा भण्डारीको सक्रियताप्रति पक्ष र विपक्षमा चर्को बहस भइरहेको छ ।
एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेको भण्डारीको पछिल्लो अभिव्यक्तिपछि पार्टीभित्र मतभेद थप चर्किएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने भण्डारीलाई एमाले नेतृत्वमा फर्किन नदिने अडान लिँदै आएकी छिन् ।
केन्द्रीय कमिटी बैठकमा ओलीले भण्डारीलाई रोक्ने स्पष्ट संकेत गर्दै भण्डारी सक्रिय राजनीतिमा नआउनुपर्ने आग्रह समेत गरेको बैठकका सहभागीले जनाएका छन् । ४ असारमा भण्डारीसँग पार्टी कार्यालयमा भएको छलफलमा समेत ओलीले यस्तो सुझाव दिएका थिए।
यसबाहेक ओलीले भण्डारी निकट समूहलाई लक्षित गर्दै पार्टी विभाजन गर्ने तत्वहरु सक्रिय भएको गम्भीर आरोप समेत लगाए । उनले नेताहरुलाई एकताबद्ध रहन निर्देशन दिएको भोलिपल्टै भण्डारीले कडा अभिव्यक्ति दिएपछि एमालेभित्र ठूलो हलचल देखिएको छ।
भण्डारीको अडान र ओलीको असन्तुष्टि बीचको यो रस्साकस्सीले एमालेको आगामी महाधिवेशनमा नेतृत्व चयनमा थप चुनौती ल्याउने संकेत देखिएको छ।