
काठमाडौं, वैशाख ७ — काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको प्रदर्शनका कारण सवारी डाइभर्सन गरिँदा करिडोर क्षेत्रसहित उपत्यकाका विभिन्न भागमा ट्राफिक प्रभावित भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बानेश्वर–बिजुलीबजार हुँदै चल्ने सवारीलाई सिनामंगल, तीनकुने, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी हुँदै वैकल्पिक मार्गमा डाइभर्ट गरिएको छ।
यसले गर्दा कोटेश्वर, गौशाला, गौरीघाट, मित्रपार्क, चावहिल, पुरानो बानेश्वर, लैनचौर, सोह्रखुट्टे, त्रिपुरेश्वर, कुपण्डोललगायत क्षेत्रका सडकहरूमा लामो सवारी जाम देखिएको छ।
प्रदर्शनकै कारण विभिन्न मुख्य चोकहरूमा सवारी साधन केही समयका लागि रोक्नुपर्ने अवस्था आएको र ट्राफिक व्यवस्थापनका लागि थप प्रहरी परिचालन गरिएको ट्राफिक महाशाखाले जनाएको छ।
यात्रुहरूलाई अनावश्यक जाममा नपर्न वैकल्पिक मार्ग अपनाउन र ट्राफिक प्रहरीले दिएको निर्देशन पालना गर्न अनुरोध गरिएको छ