
विराटनगर । विराटनगरको निहारिका कलेजले फेरि एकपटक आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ । यस कलेजकी छात्रा पूर्णिमा खतिवडाले व्यवस्थापन संकाय (बीआइएम) को पहिलो सेमेस्टर परीक्षामा नेपालभरि नै सबैभन्दा बढी जीपीए ३.९८ ल्याएर कीर्तिमान कायम गरेकी छिन् ।
कलेज प्रशासनका अनुसार २०८१ सालमा भएको बीआइएम पहिलो सेमेस्टरको परीक्षामा पूर्णिमाले ३.९८ जीपीए प्राप्त गरी नेपालभरि नै पहिलो स्थान हासिल गरेकी हुन् । यो सफलता केवल नेपाल टपमा मात्र सीमित छैन, पूर्णिमा कोशी प्रदेशबाट बीआइएममा अहिलेसम्मकै सर्वाधिक जीपीए ल्याउने विद्यार्थी पनि बनेकी छिन् । हालसम्म कोशी प्रदेशका कुनै पनि विद्यार्थीहरुले बीआइएममा नेपाल प्रथम गरेका थिएनन् ।
निहारिका कलेजले बीआइएममा विगतमा पनि उत्कृष्ट नतिजा ल्याउँदै छ, जहाँ यसका विद्यार्थीहरूले दोस्रो र तेस्रो स्थान हासिल गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यस कलेजमा बीएससी सीएसआइटी, बीसीए, बीआइटीएम, बीएचएम, बीबीएस र एमबीएसको पढाइ हुँदै आएको छ ।
अर्किड कलेज विराटनगरबाट उनले प्लस टु पास गरेकी हुन् । शैक्षिक उत्कृष्टताको निरन्तरता दिँदै उनले यसअघि पनि कक्षा १२ मा ३.८४ जीपीए ल्याएकी थिइन् । कलेज प्रशासनका अनुसार, अन्य संकायका विद्यार्थीहरूले पनि उत्कृष्ट अंक ल्याएर कलेजको गौरव बढाउँदै आएका छन् ।
पूर्णिमा खतिवडाको यो सफलताले निहारिका कलेजको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको मेहनत दुवैको सजीव प्रमाण प्रस्तुत गरेको बताइएको छ ।