
काठमाडौं । नेपालका मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटलाई सरकारले नगद पुरस्कार दिने घोषणा गरेको छ । भारतको नोयडामा साउन १७ गते सम्पन्न म्याट्रिक्स फाइट नाइट–१७ (एमएफएन–१७) बान्टमवेट फाइनलमा भारतीय प्रतिस्पर्धीलाई हराउँदै उपाधि जितेका ढाँटलाई सरकारले ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले गरेको उक्त निर्णयबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ढाँटलाई बधाई दिएका छन् ।
सरकारले ढाँटका प्रशिक्षकलाई पनि २ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यसअघि काठमाडौं महानगरपालिकाले मंगलबार ढाँटलाई २ लाख रुपैयाँको पुरस्कार प्रदान गरिसकेको थियो । साथै, उनका गृहनगर बझाङका विभिन्न पालिकाहरूले पनि नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरिरहेका छन् ।
खेल विशेषज्ञहरूका अनुसार ढाँटको यो ऐतिहासिक जितले नेपालमा एमएमए खेलको सम्भावना र लोकप्रियता दुवैलाई नयाँ उचाइमा पुर्याएको छ ।