
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू कुनै गुट–उपगुटमा संलग्न नभई नेकपा (एमाले)को हितमै समर्पित हुने स्पष्ट गरेकी छन् । आज विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आफूलाई गुटबाजी मन नपर्ने उल्लेख गर्दै, संगठनको एकताबद्ध हितका लागि काम गर्ने प्रतिबद्धता जनाइन् ।
पत्रकारहरूले राखेका प्रश्नको जवाफ दिँदै भण्डारीले भनिन्, “म एमाले हो, एमालेकै हितमा लाग्छु । मलाई गुट चलाउन आउँदैन ।” उनले राष्ट्रपतिबाट पदमुक्त भएपछि पनि एमालेसँगको नाता झनै प्रगाढ बनाएको बताउँदै, पार्टीको संगठित सदस्यताको नवीकरण गरिसकेको प्रष्ट पारिन् ।
उनले विगतमा समेत कुनै गुट सञ्चालन नगरेको दाबी गर्दै पार्टीभित्र आफ्नो भूमिका सदैव साझा एकतालाई बलियो बनाउनेतर्फ हुने बताइन् । “एमालेबाटै म राष्ट्रपति भएकी थिएँ। अहिले पनि मेरो पहिचान एमालेमै बाँधिएको छ,” भण्डारीले भनिन् ।
पूर्वराष्ट्रपति भण्डारी हाल पार्टी गतिविधि, विभिन्न सामाजिक कार्यक्रममा सक्रिय देखिँदै आएकी छन् ।