
लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा सर्वाधिक धनराशिको ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलको आयोजनामा यही जुलाई १३ देखि दोस्रो बुढासुब्बा कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु हुने भएको हो। प्रतियोगितामा पोर्चुगलसहित युरोपका विभिन्न देशमा रहेका नेपाली क्लब तथा खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
खेलकुदमार्फत युरोपमा रहेका नेपाली समुदायबीच आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्नुका साथै नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका संयोजक अरुण राईले जानकारी दिए ।
प्रतियोगिताका विजेताले मेडल, प्रमाणपत्र र उपाधिसहित नगद पाँच हजार युरो प्राप्त गर्नेछन् । उपविजेताले दुई हजार ५०० युरो, मेडल र प्रमाणपत्र पाउनेछन्। त्यस्तै, उत्कृष्ट खेलाडीहरूलाई समेत नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
लिस्बनस्थित भिटोरिया दी क्लब को खेलमैदानमा हुने प्रतियोगितामा युरोपका विभिन्न देशबाट २० टिम सहभागी हुने छन् ।