
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको आलोचना गरेकी टिकटकर रमा बस्नेत ३० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको एकल इजलासले बुधबार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
खोटाङ स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएकी बस्नेतलाई असार १ गते प्रहरीले पक्राउ गरेको थियो। गृह मन्त्रालयको पत्रका आधारमा प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमार्फत विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरिएको हो।
बस्नेतले टिकटिक भिडियोमार्फत प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक तथा कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै घृणा, द्वेष र चरित्र हत्या गरेको अभियोग लगाइएको छ। सरकारी वकिलको कार्यालयले १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।