
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र ७० वर्षे उमेरको सीमा अब अप्रासंगिक भएको बताएका छन्। उनले स्वास्थ्य र कार्यक्षमताका आधारमा नेतृत्व आवश्यक पर्ने धारणा राख्दै चीन र साइप्रसजस्ता मुलुकका कम्युनिष्ट पार्टीको उदाहरण प्रस्तुत गरे।
शनिबार राजधानीमा आयोजित अनेरास्ववियुको महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले ७० वर्ष पार गरेकाहरूको राजनीतिक सहभागिता निरन्तर हुन सक्ने संकेत गरे।
‘विश्वकान्त मैनालीजीले ७० वर्षपछि राजनीतिबाट सन्यास लिने कुरा गर्नुभयो, उहाँ अलि बुढो हुनुभयो होला। तर अब त्यो कुरा फेल भइसक्यो,’ ओलीले भने, ‘म आफैं ७४ वर्षको भएँ। फेरि ४ वर्षपछि फर्किन सक्दिन, अब ७० वर्षको उमेर हद लागू हुने कुरा रहेन।’
उनले चीनको सन्दर्भ उठाउँदै भने, ‘पहिले त्यहाँ महासचिव र राष्ट्रपतिका लागि २ कार्यकालको सीमा थियो। तर सी जिनपिङका पालामा आवश्यक ठानेर हटाइयो। अहिले उहाँ ७२ वर्ष पुग्नुभयो। त्यहाँको उमेर सीमा ६५ वर्ष थियो।’
ओलीले साइप्रस कम्युनिष्ट पार्टीले पनि ६५ वर्षे उमेरको सीमा हटाएको उल्लेख गरे। उनले एमालेमा पनि पार्टीको आवश्यकता अनुसार निर्णय लिइने बताए।
उनले पूर्वअध्यक्ष माधव नेपाल र झलनाथ खनाल उमेर हदका कारण नभई कार्यात्मक आवश्यकता नदेखिएपछि अध्यक्ष पदबाट हटाइएको दाबी गरे। उनले पार्टीको इतिहासको सन्दर्भ दिँदै भने, ‘मनमोहन अधिकारी ७८ वर्षसम्म अध्यक्ष हुनुहुन्थ्यो। त्यसैले उमेर हैन, आवश्यकताको कुरा हो।’