
विराटनगर, जेठ १४ । विराटनगर महानगरपालिका–४ मा दुर्लभ प्रजातिको सर्प ‘स्पिटिङ कोब्रा’ फेला परेको छ। उक्त सर्प नोबेल अस्पताल पछाडि डा.सुनिल शर्माको निवासमा देखिएको हो।
स्थानीयको सूचना पछि पुगेको उद्धार टोलीले सर्पलाई नियन्त्रणमा लिएर जिल्ला डिभिजन वन कार्यालय लैजाँदै गर्दा सर्पले टाढैबाट विष फालेको थियो। उद्धारकर्ता शम्भु घिमिरेका अनुसार विषका छिटा उनको शरीरमा परेपछि उनी हाल कोसी अस्पतालको आकस्मिक कक्षमा स्वास्थ्य निगरानीमा छन्।
सर्प विशेषज्ञहरूका अनुसार ‘स्पिटिङ कोब्रा’ संकटापन्न प्रजातिमा पर्छ। यसको विष यदि आँखामा परेमा दृष्टिमा गम्भीर असर गर्न सक्छ। उद्धार टोलीले सर्पलाई सुरक्षित रूपमा वन कार्यालयमा बुझाएको छ।
गर्मी मौसममा सर्पको गतिविधि बढ्ने भएकाले महानगरपालिकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, अन्य स्थानमा समेत यस्तो प्रजातिको सर्प देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी दिन अपिल गरिएको छ।