१९ जेठ २०८२, आइतबार

दिल्ली–काठमाडौं रेलमार्ग जोड्ने तयारीमा भारत, काम अन्तिम चरणमा

काठमाडौँ । भारत र नेपालको राजधानी जोड्ने सीधा रेल सेवा सुरु हुने सम्भावना बलियो बनेको छ। बिहारको रक्सौलदेखि काठमाडौंसम्म प्रस्तावित नयाँ रेलमार्ग अन्तिम तयारी चरणमा पुगेको हो। १३६ किलोमिटर लामो यो रेलमार्गको लागत अनुमानित २५ हजार करोड भारु (नेरु ४० हजार करोड) रहेको छ। मार्गमा १३ स्टेशन रहने छन्, र परियोजना सम्पन्न भएपछि दिल्ली–काठमाडौं सीधा रेल सेवा सञ्चालन हुने सम्भावना छ।

रक्सौल–काठमाडौं खण्डको फाइनल लोकेशन सर्वे हाल कोकण रेल्वे कर्पोरेशन लिमिटेडको नेतृत्वमा भइरहेको छ। एक वर्ष लाग्ने सर्वेक्षणको लागत ३७ करोड भारु हुनेछ। यसपछि विस्तृत आयोजना प्रतिवेदन (DPR) तयार पारिनेछ। अन्तिम (DPR) बनेपछि निर्माणका लागि टेन्डर आह्वान गरिने छ। भारतीय रेल्वे विभागले समेत यसको पुष्टि गरेको छ ।

रेलवे अधिकारीहरूका अनुसार दिल्ली–रक्सौल रेललाइन पहिलेदेखि सञ्चालनमा छ। नयाँ प्रस्तावित खण्डले रक्सौलदेखि काठमाडौंसम्मको दूरी जोड्नेछ। हाल सडकबाट पाँच घण्टा लाग्ने यात्रा रेलमार्फत दुईदेखि तीन घण्टामा सीमित हुने अनुमान छ।

यो रेलमार्गले भारत–नेपालबीच दुईतर्फी पर्यटन प्रवर्द्धन गर्नेछ। भारतीय पर्यटकहरू पोखरा, फेवा ताल र एभरेस्ट बेस क्याम्प जाने गर्छन् भने नेपाली पर्यटकहरू वैशाली, राजगीर, बोधगया जस्ता धार्मिक एवं सांस्कृतिक क्षेत्र जाने गर्छन्। रेल सेवाले पशुपतिनाथ, जनकपुर, सितामढी, बाबा बैद्यनाथधाम जस्ता तीर्थस्थलहरूमा पहुँच सहज बनाउनेछ। यसले हिन्दु–बौद्ध धार्मिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

हाल भारत–नेपालबीचको व्यापार सडकमा निर्भर छ, जसले ढिलाइ र उच्च लागत निम्त्याउँछ। रेलमार्गले सामान तथा सेवाको आवागमनलाई द्रुत, सुरक्षित र सस्तो बनाउनेछ।
चीनको बढ्दो संलग्नता पछिका सम्बन्धमा केही चिसोपन देखिएको बेला यो प्रकारको पूर्वाधार परियोजनाले भारत–नेपालबीचको आपसी विश्वास र परम्परागत सम्बन्धलाई सुदृढ बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

रक्सौल–काठमाडौं रेलमार्ग भारत–नेपाल सम्बन्धमा ऐतिहासिक मोड बन्न सक्नेछ। यदि योजना समयमै कार्यान्वयन भयो भने यसले दुई देशबीचको सम्बन्धलाई आर्थिक, सांस्कृतिक, धार्मिक र रणनीतिक रूपमा नयाँ उचाइमा पुर्‍याउनेछ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क