
काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको माग गर्दै राजावादी समूहले जेठ १५ गते बिहीबार काठमाडौंमा दोस्रोपटक प्रदर्शन गर्ने घोषणा गरेका छन्। पूर्वपञ्च नवराज सुवेदीको संयोजनमा गठन भएको संयुक्त जनआन्दोलन परिचालन समितिले रत्नपार्कबाट सुरु हुने गरी प्रदर्शनको तयारी गरिरहेको छ।
यसअघि, गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन अराजक बनेपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो। उक्त प्रदर्शनमा भौतिक र मानवीय क्षति भएपछि आन्दोलन एक दिनमै टुंगिएको थियो। त्यसपछिको कानुनी कारबाहीमा जनकमाण्डर दुर्गा प्रसाईं, राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका थिए। उनीहरूसहित ६२ जनाविरुद्ध विभिन्न कसुरमा आइतबारमात्रै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ भने सोमबारदेखि उनीहरूको बयान प्रक्रिया सुरु भएको छ।
यसपटकको प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपाल अध्यक्ष कमल थापा समेत सहभागी हुने जानकारी प्राप्त भएको छ। तर, गत प्रदर्शनमा देखिएको अराजकता दोहोरिन नदिन सुरक्षातर्फ उच्च सतर्कता अपनाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अहिलेसम्म जेठ १५ गतेको प्रदर्शनबारे कुनै आधिकारिक जानकारी नपाएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले भने, “हामीलाई प्रदर्शनका लागि कुनै स्थान मागिएको छैन, न त आधिकारिक जानकारी नै आएको छ। निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेमा आवश्यक कानुनी कारबाही हुनेछ।”
सुवेदीका सहयोगी किरण ढुंगेलका अनुसार, प्रदर्शनको लागि अनुमति नदिए जबरजस्ती रत्नपार्कबाटै प्रदर्शन सुरु गर्ने तयारी रहेको छ। यसपटक कुनै कमाण्डर नतोकिए पनि प्रदर्शन संयोजक सुवेदीकै नेतृत्वमा हुने बताइएको छ।
संवेदनशील ठानिएको रत्नपार्क क्षेत्रबाट प्रदर्शन गर्ने तयारीका कारण प्रशासनले सुरक्षा सतर्कता कडा बनाएको छ। यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरबारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर प्रदर्शनबारे जानकारी लिएका छन्।
अघिल्लो प्रदर्शनको अनुभवका कारण यसपटकको प्रदर्शन कति शान्तिपूर्ण र व्यवस्थित हुने हो भन्नेमा चासो बढेको छ। प्रशासन र सुरक्षानिकायको तयारीका बीच प्रदर्शनकारीहरूको रणनीति र सहभागिताले राजनीतिक माहोललाई पुनः तातेको छ।