
जनकपुरधाम । नेकपा एमाले धनुषा जिल्ला अध्यक्षमा भोला यादव निर्वाचित भएका छन्। एमाले सचिव रघुवीर महासेठ समूहका भोलाले ४०२ मत ल्याएर प्रतिस्पर्धी लक्ष्मीनारायण यादवलाई हराएका हुन्। लक्ष्मीनारायण उमाशंकर अरगरिया समूहबाट उम्मेदवार बनेका थिए र उनले २०० मत पाए।
यस निर्वाचनमा महासेठ समूहले प्रस्तुत गरेको प्यानल नै बहुमतसहित विजयी भएको छ। उपाध्यक्षमा तेजनारायण यादव ४३० मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी जयप्रकाश सुनरैतले १६० मत प्राप्त गरे।
सचिव पदमा दिपनारायण ठाकुर विजयी भए। उनले धिरेन्द्र मण्डललाई पराजित गरे, जसले २२५ मत ल्याएका थिए।
उपसचिवतर्फ पुरुषमा सबिन विक्रम थापा ३८० मतसहित निर्वाचित भए भने महिलातर्फ रुपाकुमारी मिश्राले ३९१ मत ल्याएर उपसचिवमा विजयी भइन्। पुरुषतर्फका प्रतिस्पर्धी हरिकिशोर यादवले १९५ र महिलातर्फ किरण कापरले १८४ मत ल्याएका थिए।
लेखा समिति अध्यक्षमा वीरेन्द्र लाल कर्ण ३६५ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी अनिल कुमार यादवले २०७ मत प्राप्त गरे।
पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्न मतदान गरिएको थियो। कुल ६२८ मतदाता रहेकोमा ६१५ जनाले मतदान गरेका थिए। सदस्यहरूको नतिजा भने आउन बाँकी छ।
निर्वाचनअघि वैशाख २३ गते उम्मेदवारको टुंगो नलागेपछि दुई समूहबीच झडप भएको थियो। त्यसैका कारण मतदान स्थगित गरिएको थियो। कडा सुरक्षा व्यवस्थाबीच बिहीबार मतदान सम्पन्न भएको हो।