१२ जेठ २०८२, आइतबार

‘टिकटक गर्ल’को हनी ट्रयापमा सरकारी कर्मचारी, दुई महिला पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘टिकटक गर्ल’ नामको फेक आइडी बनाएर एक सरकारी कर्मचारीलाई हनी ट्रयापमा पार्दै घरजग्गा लुट्ने दाउमा रहेका दुई महिला प्रहरीको फन्दामा परेका छन् । नग्न तस्वीर र भिडियो लिएर ब्ल्याकमेल गर्ने ती दुई महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीकी ममता तामाङ र भक्तपुरकी आँचल चौगुठी रहेका छन्। दुवैजना ३४ वर्षकी हुन् र हाल काठमाडौंमा बसोबास गर्दै आएका थिए।

घटना चैत महिनाबाट सुरु भएको हो। करिब ५५ वर्षका ती कर्मचारीलाई ‘टिकटक गर्ल’ नामको प्रोफाइलबाट फ्रेन्ड रिक्वेस्ट आउँछ। युवतीको आकर्षक तस्वीर देखेर केही समयमै ती कर्मचारीले रिक्वेस्ट स्वीकृत गर्छन्। सुरुमा एक सातासम्म कुनै संवाद नहुँदा पनि कर्मचारीले प्रोफाइल हटाएनन्।

एक सातापछि युवतीबाट ‘हाई’ भन्दै म्यासेज आउँछ। त्यसको जवाफ दिँदै सुरु भएको कुराकानी विस्तारै व्यक्तिगत र अन्तरंग बन्दै जान्छ। लगातार म्यासेन्जरमा कुराकानी गर्दै जाँदा एक हप्ता पछि ती युवतीले ठमेलमा भेटेर कफी पिउने प्रस्ताव राख्छिन्, जुन प्रस्ताव ती कर्मचारीले सहजै स्वीकार्छन्।

ठमेलको पहिलो भेटमा उनीहरू तीनजना मात्रै थिए – ती कर्मचारी र ‘टिकटक गर्ल’ नाममा आएका दुई युवती। पहिलोपटक सामान्य कफी पिएर छुटेका उनीहरू अर्को हप्ता फेरी भेट्छन्, यो पटक ठमेलकै रेष्टुरेन्टमा खानपिनसहित। खानपिनका क्रममा ती कर्मचारीलाई रक्सी खुवाइन्छ र उनी अचेत हुन्छन्।

जब उनले होस फर्काउँछन्, उनी एक्लै रेष्टुरेन्टको कोठामा हुन्छन्। केही दिनपछि फेसबुकमा नयाँ नामबाट अर्को रिक्वेस्ट आउँछ। साथी बनाउने बित्तिकै ती कर्मचारीलाई उनका अर्धनग्न फोटो र भिडिओ पठाएर ब्ल्याकमेल गर्न थालिन्छ – “काठमाडौंमा एउटा घर देऊ, नभए चार आना जग्गा। होइन भने बलात्कारको आरोपमा मुद्दा हालेर फसाइदिन्छु।”

यति मात्र होइन, दुई पुरुष पनि ती कर्मचारीको सम्पर्कमा पुग्छन्। एकले आफन्तीलाई यस्तो गर्ने भनेर धम्क्याउँछ भने अर्कोले सुल्झाउने भनेर सानो रकममा मिलाउने प्रयास गर्छ।

यो सबैबाट हैरान भएका ती सरकारी कर्मचारीले अन्ततः काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको शरण लिन्छन्। प्रहरीसँगको छलफलपछि योजना अनुसार ती कर्मचारीले ५ लाख रुपैयाँको चेक दिने सहमति गर्छन्। ठमेलकै नजिक हनुमानस्थानमा चेक दिने समयमा ‘टिकटक गर्ल’ बनेका दुवै महिला पक्राउ पर्छन्।

पक्राउपछिको अनुसन्धानमा ती महिलाहरूले फेसबुकमार्फत युवाहरूलाई हनी ट्रयापमा पार्ने, भेटमा अर्धनग्न फोटो खिच्ने, भिडियो बनाउने र त्यसको आधारमा ब्ल्याकमेल गर्ने नियोजित योजना बनाएको खुल्यो।

प्रहरीका अनुसार घटनामा संलग्न दुई पुरुषको पनि पहिचान भइसकेको छ तर उनीहरू फरार छन्। प्रहरीले उनीहरूको खोजी तीव्र पारेको छ। प्रहरीले पीडितहरू अन्य व्यक्तिहरू पनि हुनसक्ने भन्दै सम्पर्कमा आउन अपिल गरेको छ।

प्रहरीका प्रवक्ता एसपी काजी कुमार आचार्यका अनुसार हनी ट्रयापमार्फत अपहरणजस्तै नियोजित शैलीमा फोटो, भिडियोको प्रयोग गरेर आपराधिक लाभ उठाउने यो ठगी गिरोहविरुद्ध थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेका महिलामध्ये एक आँचल विवाहित थिइन् तर अहिले सम्बन्धविच्छेदपछि काठमाडौंमा बस्दै आएकी थिइन्। उनीहरूको पेशा वा जीविकोपार्जनको अन्य स्रोत नभएको खुलेको प्रहरीले जनाएको छ। अहिले दुवै जनालाई जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौंमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क