
विराटनगर । सुनसरीको दुहबी नगरपालिका–३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र।२–०१–००१ च ०२५१ नम्बरको पिकअप अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोक्किएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।
दुर्घटनामा परी उदयपुर त्रियुगा नगरपालिका–८ का ३० वर्षीय प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको हो। नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौंमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत खतिवडाको विराट टिचिङ अस्पताल बूढीगंगामा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की घाइते भएका छन्। दुवैको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ।