२१ बैशाख २०८२, आइतबार

सरकारको चेतावनी : सात दिनभित्र नेपालमा दर्ता नभए फेसबुकमाथि प्रतिबन्ध लाग्ने

काठमाडौं । सरकारले सामाजिक सञ्जाल कम्पनी मेटालाई सात दिनभित्र नेपालमा दर्ता हुन अन्तिम चेतावनी दिएको छ। संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा अन्तर्गत सञ्चालन हुने फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपजस्ता सेवाहरू नेपालमा दर्ता नभए प्रतिबन्ध लगाइने चेतावनी दिएका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल सरकारले पटक–पटक आग्रह गर्दा पनि मेटाले अटेर गर्दै आएको आरोप लगाए। “हामीले तीनपटक भन्यौं— दर्ता हुन आऊ, कर तिर भनेर। तर उनीहरूले टेरेनन्,” मन्त्री गुरुङले भने, “फेसबुकले हाम्रो पैसा अवैध रूपमा लग्यो तर नेपालको कानून मानेन।”

उनका अनुसार सरकार विगतदेखि नै मेटालाई दर्ता गराउन आग्रह गर्दै आएको थियो। तर कम्पनीले नेपाललाई सानो सम्झेर बेवास्ता गरेको उनको गुनासो छ। “नेपालभन्दा ठूलो रे उनीहरू, उनीहरूको घमण्ड के रैछ भने नेपालको जीडीपी कति हुन्छ र?” गुरुङले भने, “मुलुकको स्वाधीनता पैसामा जोडिँदैन। नेपालमा चल्ने हो भने दर्ता भएर कर तिनुपर्छ, नत्र प्रतिबन्ध हुन्छ।”

सरकारले अब मेटालाई सात दिनको अन्तिम समय सीमा दिएको छ। सो अवधिभित्र दर्ता प्रक्रिया पूरा नगरे प्रतिबन्धको प्रक्रिया अघि बढाइने बताइएको छ।

नेपालमा सामाजिक सञ्जालको प्रयोग तीव्र रुपमा बढिरहेको छ। तर यसबाट हुने आम्दानीमा विदेशी कम्पनीले कर नतिरेको भन्दै सरोकारवालाहरूले पनि बेलाबेला सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क