धादिङ, आइतबार — धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली नदीमा मोटरसाइकल खस्दा एक जना बेपत्ता भएका छन् भने एक जनाको सकुशल उद्धार गरिएको छ।
आइतबार साँझ साढे ५ बजे बा।प्र।०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल त्रिशूली नदीमा खसेको हो। मोटरसाइकलमा दुई जना सवार रहेको जनाइएको छ।
घटनास्थलमा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक अस्मितकुमार चौहानको कमान्डमा गोताखोरसहितको टोली परिचालन गरिएको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
टोलीले करिब १५० मिटर तलको भीरबाट रोप रेस्क्यु र स्टेचरको प्रयोग गरी घाइतेको उद्धार तथा मोटरसाइकल माथि ल्याउने कार्य गरिरहेको छ। उद्धार गरिएका घाइते व्यक्तिसँग मीनबहादुर तामाङ नाम उल्लेख भएको नगदी रसिद फेला परेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ।
मोटरसाइकलमा सवार अर्का व्यक्ति बेपत्ता रहेको आशंकामा गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ।