२३ बैशाख २०८२, मंगलबार

राप्रपाको प्रदर्शन लक्षित गर्दै काठमाडौंमा सुरक्षा कडा, निषेधित क्षेत्र तोड्न खोजे बल प्रयोग हुने चेतावनी

शान्तिपूर्ण प्रदर्शनको आग्रह र सरकारलाई नडराउन लिङ्देनको सन्देश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा आयोजना गर्न लागेको प्रदर्शनलाई लक्षित गर्दै उपत्यकाका प्रमुख स्थानहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, बालुवाटारस्थित प्रधानमन्त्री निवास, राष्ट्रपतिको कार्यालय लगायतका क्षेत्रमा अघिल्ला दिनको तुलनामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकप्रसाद तामाङले राप्रपाको प्रदर्शनलाई लक्षित गर्दै विशेष सुरक्षा रणनीति लागू गरिएको जानकारी दिए। उनले भने, “प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रयास हाम्रो रहन्छ, त्यसका लागि आवश्यक सुरक्षाकर्मी ठाउँ–ठाउँमा परिचालन गरेका छौं। कुनै पनि हालतमा निषेधित क्षेत्र तोड्न दिँदैनौं। यदि तोड्न खोजे बल प्रयोग गर्नुपर्ने अवस्था पनि हुनसक्छ।”

शान्तिपूर्ण प्रदर्शनको आग्रह र सरकारलाई नडराउन लिङ्देनको सन्देश

राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यको माग गर्दै आज बिहान ११ बजे काठमाडौंको बिजुलीबजारमा प्रदर्शनको आयोजना गरेको हो। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत सरकारलाई नडराउन आग्रह गर्दै प्रदर्शन पूर्णरूपमा शान्तिपूर्ण हुने स्पष्ट पारेका छन्।

उनले लेखेका छन्, “भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, योयो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो, जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं।”

यसअघि राप्रपाले निषेधित क्षेत्र तोड्ने निर्णय गरेको जानकारी दिएको थियो। गृह मन्त्रालयले सो निर्णयप्रति ध्यानाकर्षण भएको जनाउँदै, निषेधित क्षेत्र उल्लङ्घन गर्न खोजे कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क