
विराटनगर । सुनसरीको इटहरीमा शनिबार राति भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जंगलमा राति ११ बजेतिर दुर्घटना भएको हो।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार धरानबाट इटहरीतर्फ गइरहेको प्र–०१–०३० च ४६१८ नम्बरको कार अनियन्त्रित भई पूर्वतर्फको जामुनको रुखमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा इटहरी–१ का ४० वर्षीय विष्णु राउतको ज्यान गएको छ। गम्भीर घाइते राउतलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा करिब डेढ घण्टापछि मृत्यु भएको प्रहरीले जनाएको छ।
कारमा चालकसहित चार जना सवार थिए। घाइते हुनेहरूमा कार चालक रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गंगा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल रहेका छन्। उनीहरूको धरानस्थित बीपी कोइरालामा उपचार भइरहेको छ।
दुर्घटनामा प्रयोग भएको कार पूर्णरूपमा क्षतिग्रस्त भएको छ। प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिका कारण सवारी अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको छ। सामान्य उपचारपछि चालक लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटना स्थल तरहराबाट करिब ७ किलोमिटर उत्तरमा पर्दछ।