२३ बैशाख २०८२, मंगलबार

पूर्वराजासँग राप्रपाको लन्च मिटिङ : ‘ सुवेदीलाई संयोजक र दुर्गा प्रसाईलाई कमाण्डर मैले तोकेको हैन’

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित शीर्ष नेताहरू पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गर्न निर्मल निवास पुगेको समाचार शनिबार सार्वजनिक भएको छ। शुक्रबार भएको सो भेटमा प्रमुख नेताहरूबीच दुई घण्टाभन्दा लामो लन्च मिटिङ भएको थियो।

पूर्वराजाकै निमन्त्रणामा राप्रपाको टोली निर्मल निवास पुगेको हो। राप्रपा प्रतिनिधिमण्डलमा वरिष्ठ नेताद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षत्रय बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे तथा प्रवक्ता ज्ञानेन्द्र शाही सहभागी थिए।

तीनकुने आन्दोलन, त्यसमा भएको हिंसा, आन्दोलनको नेतृत्व र त्यसपछिका राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतहरू बताउँछन्। भेटमा पूर्वराजाले आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण अभिव्यक्तिको पक्षमा आफू रहेको धारणा राखेका थिए।

‘प्रहरीहरू हाम्रै दाजुभाइ हुन्, गुलाबको फुल दिनुस्’

पूर्वराजालाई उद्धृत गर्दै एक नेताले भने, “हामी शान्तिप्रेमी हौँ। हामीले नारायणहिटी दरबार छोड्दाखेरि त कुनै अप्रिय घटना भएन। मान्छे मारेर आएको व्यवस्था टिकाउ हुँदैन। प्रहरीहरू हाम्रै दाजुभाइ हुन्। उनीहरूलाई ढुंगा हान्नु हुँदैन, बरु गुलाबको फुल दिनुस्।”

प्रसाईँ र सुबेदीबारे पूर्वराजाको प्रष्टोक्ति

भेटका क्रममा राप्रपा प्रवक्ता शाहीले दुर्गा प्रसाईँ आन्दोलनको कमान्डर पूर्वराजाले तोकेको भन्ने चर्चा उठाएका थिए। जवाफमा पूर्वराजाले यस्तो कुनै भूमिका नरहेको स्पष्ट पारेका थिए। “मेची पुलको कार्यक्रमपछि प्रसाईँसँग भेटै भएको छैन”, पूर्वराजाको भनाइ स्रोतले जनाएको छ।

त्यस्तै, नवराज सुबेदीलाई जनआन्दोलन समितिको संयोजक तोक्ने विषयमा पनि पूर्वराजाले कुनै भूमिका नरहेको बताएका थिए। “न सुबेदीलाई संयोजक तोकेको छु, न प्रसाईँलाई कमान्डर”, पूर्वराजाको भनाइ उद्धृत गर्दै एक नेताले भने।

राप्रपाभित्रको शक्ति सन्तुलन

भेटमा सहभागी नेताहरूबीच आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने विषयमा मतभेद देखिएको थियो। संस्थापन पक्षका नेताहरू (तामाङ, प्रधान, शाही) राप्रपाले नै नेतृत्व गर्नुपर्ने पक्षमा छन्। इतर नेताहरू (लोहनी र पाण्डे) भने जनआन्दोलन समितिको नेतृत्वमा जानुपर्ने पक्षमा छन्। राणा भने तटस्थ देखिएका छन्।

पूर्वराजाले “आन्दोलन” भन्ने शब्द प्रयोग नगरे पनि “जनभावनाको नेतृत्व” राप्रपाले गर्नुपर्ने धारणा राखेको संस्थापन पक्षीय नेताहरूको भनाइ छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क