विराटनगर । विराटनगरमा आजदेखि महानगरस्तरीय कबडी प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा सुरु भएको प्रतियोगितामा विराटनगरका १७ वटा वडाको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका समाजिक विकास मन्त्री रामप्रसाद मेहताले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्ता मौलिक खेललाई प्रदेश सरकारले प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले राष्ट्रको लागि र स्वास्थ्यको लागि मात्र नभइ प्रदेशको पहिचानको लागि समेत खेलकुद रहेको भन्दै सबै खेलहरुको विकासमा प्रदेश सरकारले ध्यान दिने समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले मोरङका उपाध्यक्ष तथा एकेडेमीका संरक्षक सागर थापाले स्थानीय तहमा खेलकुदको वातावरण तयार गरि खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । उहाँले राज्यले खेल र खेलाडीलाई अघि बढाउन अझै धेरै काम गर्नु पर्ने अवस्था रहेको औंल्याउनुभयो ।
मदन भण्डारी स्पोर्टस् एकेडेकमी विराटनगरका अध्यक्ष गोपाल झाले कबडी प्रतियोगिता तीन वर्षदेखि लगातार सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । विराटनगरका विभिन्न वडाको सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको उहाँको भनाइ छ ।
