
बेलायतको संसद्को माथिल्लो सदन हाउस अफ लर्ड्स मा अभिनेत्री मनिषा कोइराला सम्मानित भएकी छन् । महिला सशक्तीकरण, स्वास्थ्य र क्यान्सर पीडितको सहयोगमा उनले पुर्याएको योगदानका लागि उनलाई सम्मान गरिएको हो ।
हाउस अफ लर्ड्सका सदस्य लर्डस् रेमि रेन्जर सिविईले उनलाई सम्मान प्रदान गर्दै दक्षिण एसियामा महिलाको अधिकार र पुनर्जीवनका लागि उनले निभाएको भूमिका प्रशंसनीय रहेको बताए । सम्मानपछि कोइरालाले यस्तो गरिमामय स्थलमा उपस्थित भएर बोल्न पाउँदा प्रेरणा मिलेको बताउँदै यो क्षण जीवनभर सम्झिने बताइन् ।
उनले दक्षिण एसियाका ग्रामीण महिलाहरू पीडित नभई साहसी योद्धा भएको उल्लेख गरिन् । नेपालदेखि भारत र बङ्गलादेशसम्मका महिलाहरूले अझै पनि बालविवाह, अशिक्षा र आर्थिक निर्भरता भोगिरहेको उनले स्मरण गराइन् ।
कार्यक्रममा बेलायती सांसद, महिला अभियन्ता र नेपाली समुदायको उपस्थिति रहेको थियो । आयोजक पानस गोर्खा रेष्टुरेन्टका सुजन कटवालले कोइराला हाउस अफ लर्ड्समा सम्मानित हुने पहिलो नेपाली महिला भएको बताए ।