
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको प्रथम सचिवालय बैठकले यही साउन १७ गते तेश्रो वडा अधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले नेकपा एमाले विराटनगरका १९ वटै वडा कमिटीको तेस्रो वडा अधिवेशन आगामी साउन १७ गते शनिबार एकैदिन सम्पन्न गर्ने निर्णय गरेको छ ।
अधिवेशनलाई भव्य र विधिसम्मत बनाउन वरिष्ठ अधिवक्ता गुणराज लुटेलको नेतृत्वमा अधिवक्ता डिल्लीराम घिमिरे, विश्वराम भट्टराई, महेश खड्का र महानगर निर्वाचन समिति संयोजक अधिवक्ता विष्णुकुमारी तामाङसहित पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । साथै १९ वटै वडामा पनि तीन–तीन सदस्यीय वडा निर्वाचन समिति बनाइएको छ ।
बैठकले यसै वर्षको वार्षिक कार्यतालिका अन्तर्गत साउन ७ गते ४७औं पुष्पलाल स्मृति दिवसको अवसरमा विराटनगर पुष्पलाल चोकमा साँझ ६ ३० बजे दीप प्रज्वलन कार्यक्रम गर्ने निर्णय गरेको छ ।
त्यसैगरी साउन मसान्तभित्र जनप्रतिनिधिहरूको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने, साउन ३१ गते निर्वाचित वडा पदाधिकारीका लागि अभिमुखीकरण र पार्टी स्कुल सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकले विराटनगरमा बर्षायाममा हुने डुबान नियन्त्रणका लागि दीर्घकालीन, मध्यकालीन र तत्कालीन योजना बनाएर कार्यान्वयन गर्न महानगरपालिकाको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । एमाले विराटनगर महानगर अध्यक्ष बलराम गिरिको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमाले मोरङ जिल्ला उपाध्यक्ष सागर थापा प्रमुख अतिथि र जिल्ला सचिव सोमराज थापा सहभागी थिए ।