
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अंकले उकालो लाग्दा कारोबार रकमसमेत २० अर्ब नाघेको छ । नेप्से परिसूचक ८०.९७ अंकले उकालो लागेर २,९७३.७० बिन्दुमा पुग्यो । यो वृद्धि २.७९ प्रतिशतको हो ।
आज ३१९ कम्पनीका ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर १ लाख ७७ हजार १०१ पटक किनबेच हुँदा कुल कारोबार रकम २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २९३ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । कारोबारपछि बजार पुँजीकरण ४९ खर्ब ६२ अर्ब १२ करोड नाघेको छ ।
आज सबै समूहको उपसूचक हरियो रह्यो । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ४.६३ प्रतिशतले, जीवन बीमा समूह ४.३६ प्रतिशतले र लघुवित्त समूह ४.०७ प्रतिशतले उकालो लागे । यस्तै, बैंकिङ २.१०, विकास बैंक २.२६, वित्त १.९४, होटल तथा पर्यटन ३.४४, जलविद्युत् १.९०, लगानी ३.३४, म्युचुअल फन्ड ०.५६, निर्जीवन बीमा २.५६, व्यापार १.०१ र अन्य समूह ३.२६ प्रतिशतले बढेका छन् ।
आजको कारोबारमा ट्रेड टावर लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड र सान्भी इनर्जी लिमिटेड का शेयरमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा एलबीबीएल डिबेञ्चर–२०८९ रह्यो, जसको मूल्य ३.९४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड को ७१ करोड ८८ लाख ८५ हजार ७४५ रुपैयाँ बराबरको कारोबार भयो । शेयर संख्याका हिसाबले सबैभन्दा बढी सनराइज फोकस्ड इक्विटी फण्ड का २२ लाख ३७ हजार ३९५ कित्ता शेयर किनबेच भयो ।