
काठमाडौं । नेकपा एमालेको जारी नवौं केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य जीवन घिमिरेले राष्ट्रप्रमुखको जिम्मेवारी पूरा गरिसकेका व्यक्तिले फेरि सक्रिय राजनीतिमा फर्कनु उचित नहुने धारणा राखेका छन् । उनले “सम्माननीयले सम्मानित पोजिसनमै बस्नु उचित हुन्छ” भन्दै राजनीतिमा नर्फिन सुझाव दिए ।
आजको बैठकमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखे । किशोर अधिकारी, राजेन्द्र राई, आशारत्न जवेगु, दिपक कार्की, रामलाल साह, युवारज बास्कोटा, इन्द्र भण्डारी, नैनकला ओझा, यज्ञराज सुनुवार, तुलसी नेउपाने, भगवती चौधरी, मञ्जु भण्डारी, राम राना, टंक आङ्बोहाङ र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पनि आफ्ना भनाइ राखे ।
युवारज बास्कोटाले भूगोलको जिम्मेवारी लिएका कतिपय केन्द्रीय सदस्य काठमाडौंमै सीमित भएर स्थानीय तहमा जनसम्पर्क कमजोर बनाएको र जनप्रतिनिधिहरू ‘निजामतीका हाकिम जस्तो’ बन्न थालेको भन्दै आचरण सुधार्न पार्टीले नीति ल्याउनुपर्ने माग गरे ।
मञ्जु भण्डारीले अध्यक्ष र पूर्व राष्ट्रपतिले विगतमा जस्तै समझदारीमा विवाद समाधान गर्नुपर्ने धारणा राखिन् । बैठकमा मुख्यत पार्टी सचिवालय र पोलिटब्यूरोले पारित गरेको विधानमाथि छलफल भइरहेको छ । विधान संशोधनपछि मातहतका कमिटीमा सुझावका लागि पठाउने तयारी छ ।