२५ साउन २०८२, शनिबार

बोक्सीको आरोपमा एकै परिवारका पाँच जनाको हत्या

बिहार । भारतको बिहार राज्यस्थित पूर्णिया जिल्लाको टेटगामा गाउँमा एकै परिवारका पाँच जनाको ‘बोक्सी’ को आरोपमा हत्या गरिएको छ। प्रहरीका अनुसार मृतकमध्ये बाबूलाल उराउँ र उनकी पत्नीसहित परिवारका पाँच सदस्य रहेका छन्। उनीहरुलाई बच्चा बिरामी बनाएको भन्दै पुरै गाउलेले नै घर घेरेर जलाएर हत्या गरेका हुन् ।

घटना आइतबार (६ जुलाई) रातिको हो। पूर्णियाका जिल्ला अधिकारी अंशुल कुमारका अनुसार घटनामा संलग्न मुख्य आरोपीसहित तीन जनालाई पक्राउ गरिएको छ। घटनापछि बिहार विधानसभामा विपक्षी नेता तेजस्वी यादव र पूर्णियाका स्वतन्त्र सांसद पप्पु यादवले राज्यको कानुन व्यवस्था माथि प्रश्न उठाएका छन्।

तेजस्वी यादवले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, “एकै परिवारका पाँच जनालाई जिउँदै जलाएर मारिएको छ।”

जिल्ला अधिकारी अंशुल कुमारका अनुसार घटनामा २३ जनाविरुद्ध नामसहितको मुद्दा दायर गरिएको छ भने थप १५०–२०० जना अज्ञातविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ। उनले भने, “घटना ६ जुलाई राति करिब २ बजे भएको हो। मारपिटपछि उनीहरूलाई जिउँदै जलाइएको पाइएको छ। सोमबार प्रहरीले शवहरू बरामद गरी पोस्टमार्टम गराइएको छ।”

उनले थपे, “मुख्य आरोपीसहित हालसम्म तीन जना पक्राउ परेका छन्, जसमा एक नाबालिग पनि छन्। थप पक्राउका लागि गाउँमा निरन्तर छापा मारी भइरहेको छ।”

घटनापछि गाउँका धेरै स्थानीय फरार भएको र प्रहरीले खोजी जारी राखेको जनाइएको छ।

बिहारकी मन्त्री लेशी सिंहले एएनआईसँग भनिन्, “पूर्णियामा अन्धविश्वासका कारण भएको घटनामा प्रहरी सक्रिय छ र तीन जना पक्राउ परिसकेका छन्। प्रशासन निरन्तर निगरानीमा छ।”

पूर्णियाका डिआईजी प्रमोद कुमार मण्डलले एएनआईसँग भने, “२१ औं शताब्दीमा पनि यस्तो हुन सक्छ भनेर कसैले पत्यार गर्ने अवस्था छैन। रामदेव महतोको परिवारको एक बच्चा बिरामी भएपछि उनीहरूले मृतकहरूलाई दबाब दिएका थिए। बच्चा ठिक नभएपछि उनीहरूलाई नै मारिदिए।”

उनका अनुसार घटनास्थलमा करिब ४०–५० जना थिए। मुख्य दुई आरोपीसहित एक ट्रयाक्टर मालिक पनि पक्राउ परिसकेको र अन्यको खोजी जारी रहेको उनले जानकारी दिए।

पूर्णियाका एसडीपीओ पंकज कुमार शर्माका अनुसार घटनाको सम्बन्ध जादूटुना र तन्त्रमन्त्रसँग रहेको देखिएको छ। उनका अनुसार मृतक परिवारमाथि जादूटुना गरेको आरोप लगाइएको थियो।

“पाँच जना सदस्यलाई जादूटुना गरेको आरोप लगाएर पिटेर जिउँदै जलाइएको नाबालिगले बयान दिएको छ,” उनले भने।

उनले थपे, “यो निकै गम्भीर घटना हो। कसैलाई पनि उन्मुक्ति दिइने छैन। दोषीमाथि कडा कारबाही गरिनेछ।”

 

 

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क