
विराटनगर । इजरायलको सुरक्षा क्याबिनेटले हमासविरुद्धको सैन्य अभियान थप विस्तार गर्ने निर्णय गरेको छ। एक इजरायली अधिकारीका अनुसार सो निर्णयमा गाजा क्षेत्रमा सम्भावित ‘कब्जा’समेत समावेश गरिएको छ।
प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले सुरक्षा क्याबिनेटको निर्णयबारे जानकारी दिँदै भने, “हमासलाई पूर्ण रूपमा नष्ट गर्ने र त्यसले बन्धक बनाएर राखेका सबै व्यक्तिहरूको उद्दार गर्न बल प्रयोग गरेर कारबाही अगाडि बढाउने निर्णय गरिएको छ।”
“हमासलाई नष्ट गर्नु नै हाम्रो मुख्य उद्देश्य हो। गाजाका सर्वसाधारण नागरिकलाई बचाउन स्थानान्तरण गरिनेछ,”
— बिन्यामिन नेतन्याहू, प्रधानमन्त्री, इजरायल
सुरक्षा क्याबिनेटले निजी कम्पनीमार्फत गाजामा मानवीय सहायता पुर्याउने योजना पनि सैद्धान्तिक रूपमा स्वीकृत गरेको छ। सो निर्णयसँगै गत दुई महिनादेखिको नाकाबन्दी केही हदसम्म हट्ने अपेक्षा गरिएको छ। संयुक्त राष्ट्रसंघले गाजामा खाद्य संकट गम्भीर बन्दै गएको भन्दै नाकाबन्दी तत्काल हटाउन आग्रह गर्दै आएको थियो।
सैन्य अभियानलाई अझ तीव्र बनाउने योजनाअनुरूप इजरायली सेनाले हजारौँ रिजर्भ सैनिकहरूलाई फिर्ता बोलाउन थालेको छ । गाजामा युद्धको अवस्था अझ चर्किने संकेत देखिन थालेको छ।