
उत्तर प्रदेश । इन्डियन आइडल सिजन १२ का विजेता तथा चर्चित गायक पवनदीप राजन गम्भीर सवारी दुर्घटनामा परेका छन्। सोमबार (मे ५) राति करिब २:३० बजे अमरोहा जिल्लाको गजरौला क्षेत्र अन्तर्गत दिल्ली नेशनल हाईवेमा पवनदीप चढेको कार एक पार्क गरिएको ट्रकमा ठोक्किँदा उनी गम्भीर घाइते भएका हुन्।
पहिलो रिपोर्टमा दुर्घटना अहमदाबादमा भएको भनिए पनि पछिल्लो विवरण अनुसार दुर्घटना उत्तर प्रदेशको अमरोहामा भएको पुष्टि भएको छ। हिन्दुस्तान टाइम्स का अनुसार चम्पावत (उत्तराखण्ड) निवासी पवनदीप एक कार्यक्रममा सहभागी हुन नोयडा जाँदै थिए। उनीसँगै चालक राहुल सिंह र साथी अजय मेहरा पनि सवार थिए।
अनुसन्धान अनुसार गाडी चलाइरहेका चालक राहुल सिंह निदाएका कारण नियन्त्रण गुमाएर कार ट्रकको पछाडिको भागमा ठोक्किएको थियो।
दुर्घटनामा पवनदीप, अजय र चालक राहुल तीनैजना गम्भीर घाइते भएका छन्। पवनदीपका दुबै खुट्टामा फ्र्याक्चर आएको र टाउकोमा पनि गम्भीर चोट लागेको बताइएको छ। सुरुमा उनीहरूलाई नजिकको सरकारी अस्पताल पुर्याइएको थियो, तर अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूलाई निजी अस्पतालको आइसियु मा सारिएको छ।
पवनदीपका परिवारले उनलाई थप उपचारका लागि नोयडास्थित फोर्टिस अस्पताल मा स्थानान्तरण गरेका छन्, जहाँ हाल उनी कडा चिकित्सकीय निगरानीमा छन्। गजरौला प्रहरी चौकीका घर इन्चार्ज अखिलेश प्रधानका अनुसार घटनाको अनुसन्धान जारी छ। अर्कोतर्फ प्रहरी नायब उपरीक्षक श्वेताभ भास्करले दुवै सवारी साधन नियन्त्रणमा लिइएको र लिखित उजुरी आएपछि थप कारबाही गरिने बताएका छन ।