
काठमाडौं । माध्यमिक शिक्षा परिषद् (राष्ट्रिय परीक्षा बोर्ड) द्वारा सञ्चालित कक्षा–१२ को वार्षिक परीक्षा आइतबारदेखि देशभर सुरु भएको छ। बिहान ८ देखि ११ बजेसम्म सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
आगामी जेठ २ गतेसम्म चल्ने यस परीक्षाका लागि देशभर एक हजार ५९० र जापानमा एक परीक्षा केन्द्र निर्धारण गरिएको छ। काठमाडौंमा सबैभन्दा बढी १६२ परीक्षा केन्द्र कायम गरिएको छ भने मनाङ र मुस्ताङमा एक–एक केन्द्र तोकिएको छ। नियमिततर्फ १ लाख ९८ हजार ८७५ छात्र र १ लाख ९७ हजार ०३३ छात्रा गरी कुल ३ लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी छन् भने आंशिकतर्फ १ लाख १५ हजार ६१७ परीक्षार्थीले परीक्षा दिइरहेका छन्।
यसरी जम्मा ५ लाख ११ हजार ५२५ जना परीक्षार्थीले फाराम भरेका छन्। सबैभन्दा धेरै परीक्षार्थी काठमाडौंबाट ९६८ हजार १३३० सहभागी भइरहेका छन् भने सबैभन्दा कम मनाङबाट ४५ जना मात्रै सहभागी भएका छन्। कारागार तथा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ। यसपटकको परीक्षामा एउटा विशेष उदाहरण बनेकी छन्, ७३ वर्षीया सूर्यवती खनाल, जसले तारकेश्वर नगरपालिका–१०, मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुल केन्द्रबाट परीक्षा दिएकी छन्। उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।
वि.सं. २००९ साउन ९ गते जन्मिएकी खनाल चार छोराछोरी र तीन नातिनातिनाकी हजुरआमा हुन्। छोराछोरी हुर्किएपछि पढ्ने इच्छाले विद्यालय भर्ना भएकी उनले केही वर्षअघि गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयबाट एसईई पास गरेकी थिइन्। उनका श्रीमान् एक विद्यालयमा शिक्षक छन्। उमेरले सत्तरी नाघेपनि उनी पढाइप्रतिको जिज्ञासा र लगनशीलताको प्रेरणादायी उदाहरण बनेकी छन्।