राष्ट्रिय परीक्षा बोर्ड ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार परीक्षामा सहभागी कुल ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गर्न सफल भएका छन्।
बोर्डका अनुसार कुल २ लाख ८४ हजार १६० जना विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् भने १ लाख ४६ हजार ५०७ जना विद्यार्थी ‘ननग्रेडिङ’ मा परेका छन्।
यस वर्ष सबैभन्दा धेरै विद्यार्थी २।८० देखि ३।२० जीपीए समूहमा रहेका छन्। त्यस्तै ३।६० देखि ४।०० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२ रहेको बोर्डले जनाएको छ।
प्रदेशगत विवरणअनुसार ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीमध्ये सबैभन्दा धेरै बागमती प्रदेश का रहेका छन्। बागमतीमा २० हजार ४२९ जनाले उक्त जीपीए हासिल गरेका छन्।
त्यसपछि कोशी प्रदेश मा ८ हजार ६७४, लुम्बिनी प्रदेश मा ६ हजार ४३६, मधेश प्रदेश मा ६ हजार १७२, गण्डकी प्रदेश मा ३ हजार ९९९, सुदूरपश्चिम प्रदेश मा १ हजार ४१४ र कर्णाली प्रदेश मा १ हजार २६८ जनाले ३.६० देखि ४ जीपीए ल्याएका छन्।
यस वर्षको नतिजाले शहरी तथा शिक्षामा पहुँच राम्रो भएका प्रदेशहरूमा उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या उल्लेख्य रहेको देखाएको छ।