१८ माघ २०८२, शनिबार

एमाले कोशीले सरकारविरुद्ध आन्दोलन थाल्ने

विराटनगर। नेकपा (एमाले) कोशी प्रदेश कमिटीले सुशीला कार्की नेतृत्वको चुनावी सरकारका निर्णय र गतिविधिलाई असंवैधानिक तथा प्रतिगमनकारी ठहर गर्दै सशक्त आन्दोलन सुरु गर्ने घोषणा गरेको छ ।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै एमाले कोशी प्रदेशले आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले सरकारका कदमहरू स्वीकार्य नरहेको भन्दै आन्दोलन सुरु गर्ने बताए ।

अध्यक्ष खतिवडाले सरकारले राजनीतिक प्रतिशोधको उद्देश्य राखेको भन्दै त्यसविरुद्ध कोशी प्रदेशका १४ वटै जिल्लामा चरणबद्ध प्रदर्शन गरिने बताए ।
अध्यक्ष खतिवडाद्वारा जारी विज्ञप्तिमा हालै सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएपछि पार्टीप्रति जनसमर्थन बढेको र त्यसबाट सरकार भयभीत भएको दाबी गरिएको छ। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कथित छानबिन आयोगका नाममा अनावश्यक दुःख दिन खोजिएको भन्दै धरपकड गरे सशक्त प्रतिवादमा उत्रिने अध्यक्ष खतिवडाले बताए ।

एमालेले २०८२ भदौ २३ र २४ का घटनासँग जोड्दै जननिर्वाचित सरकार अपदस्त गरी असंवैधानिक सरकार गठन गरिएको आरोप लगाएको छ। यसले लोकतन्त्र र संविधानमाथि गम्भीर प्रहार भएको भन्दै प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार गठन, संविधान संशोधन र ताजा जनादेशको माग दोहोर्‍याइएको छ।

आन्दोलनका कार्यक्रमअन्तर्गत कोसी प्रदेशका सबै जिल्ला कमिटीलाई शान्तिपूर्ण खबरदारी प्रदर्शन, सद्भाव र्‍याली तथा अन्य विरोध कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ। साथै, सरकारी धरपकड वा प्रतिशोधपूर्ण कदमको कडा प्रतिवाद गरिने चेतावनी दिइएको छ। पत्रकार सम्मेलनमा बोल्दै एमाले सचिव शेरधन राईले पार्टी एक ढिक्का हुनुको विकल्प नभएको बताए । उनले सरकारले असंवैधानिक रुपमा नेतृत्वमाथि प्रहार गर्न खोजेको भन्दै पार्टी एक भएर नेतृत्वको रक्षामा उत्रिने बताए ।

सुशिला कार्की अन्तरिम सरकारको असंवैधानिक प्रधानमन्त्री रहेकोले यसले चुनाव गराउन नसक्ने राईले बताए । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिन आयोगको नाममा अनावश्यक दुःख दिने प्रयास गरेको खण्डमा सरकारका विरुद्ध प्रतिकारमा उत्रिने राईले बताए ।

 

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]