
काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायत राष्ट्रिय सम्पदामाथि आगजनी, लुटपाट र प्रहरी चौकीमा आक्रमण गर्ने आरोपमा पक्राउ परेकामध्ये करिब २५० जना व्यक्ति हाजिरी जमानीमा रिहा भएका छन्।
महानगरीय प्रहरी कार्यालय मातहतका युनिटहरूबाट पक्राउ परेका ती व्यक्तिहरूलाई गृह मन्त्रालयको निर्देशनमा दशैँअघि छाडिएको हो। मन्त्रालयले ‘जाँचबुझ आयोगको प्रतिवेदन नआएसम्म कसैमाथि धरपकड नगर्ने’ भन्दै वक्तव्य जारी गरेपछि उनीहरूलाई रिहा गरिएको बताइएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार, पक्राउ परेकाहरूलाई विभिन्न घटनामा संलग्नताको आधारमा सोधपुछपछि हाजिरी जमानीमा छाडिएको हो। उनका अनुसार, जघन्य अपराधमा संलग्न व्यक्तिहरू भने अझै पनि प्रहरी अनुसन्धानको दायरामै छन्।
भदौ २४ गतेका घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि प्रहरीले भिडिओ फुटेज, तस्बिर र अन्य प्रमाणको विश्लेषण गरेको थियो। तीमध्ये महाराजगञ्ज र कोटेश्वरमा प्रहरीको हत्यामा संलग्न व्यक्तिहरूलाई भने रिहा गरिएको छैन।
प्रहरी स्रोतका अनुसार, हाल रिहा गरिएका व्यक्तिहरू सबैको बयान र कागजी प्रक्रिया पूरा भइसकेको छ। धेरैजसोले हुलमुलमा अन्जानमै संलग्न भएको दाबी गरेका छन्। तर, अनुसन्धान जारी रहेको र आवश्यकता परेमा कानूनी कारबाही अघि बढाउन सकिने प्रहरी अधिकारीहरूले बताएका छन्।
यसैबीच, उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी रमेश बस्नेतले प्रहरीमाथि कुनै दबाब नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार, प्रहरीको मुख्य प्राथमिकता अहिले भागेका कैदी-बन्दीको खोजी, लुटिएका हतियार फिर्ता र जघन्य अपराधसम्बन्धी अनुसन्धानमा केन्द्रित रहेको छ।