
वासिङ्टन । संसारभर नाच–गानका भिडियो र च्यालेन्जका कारण धुम मचाइरहेको टिकटक अब चीनको नियन्त्रणबाट बाहिरिने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै टिकटकलाई अमेरिकामा प्रतिबन्धबाट जोगाएका हुन् ।
केही महिनादेखिको जटिल वार्तापछि भएको यो सहमतिअनुसार टिकटकमा अब अमेरिकी लगानीकर्ताहरू ओरेकल र सिल्भर लेकले प्रमुख हिस्सेदारी पाउनेछन् भने चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्व घटेर २० प्रतिशतभन्दा कम रहनेछ ।
यससँगै सबैको ध्यान अहिले टिकटकको अमेरिकास्थित वास्तविक मालिक को हुने भन्नेमा केन्द्रित भएको छ । राष्ट्रपति शी जिनपिङले समेत यस सम्झौतामा सहमति जनाएका छन्, जसपछि यो विवादास्पद मुद्दा केही हदसम्म अन्त्य भएको मानिएको छ ।
ट्रम्पको आदेशपछि टिकटक अब अमेरिकामा कानुनी रूपमा सञ्चालन हुने र लाखौँ युवाबीच अझै लोकप्रिय हुने अपेक्षा गरिएको छ।