०४ कार्तिक २०८२, सोमबार

नेताहरूको घरमा जलेका नोटको अनुसन्धान, सम्पत्ति शुद्धीकरण विभागले उठायो मुचुल्का

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका नेताहरूको निवासमा भेटिएका भनिएका नोटहरूको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुचुल्का उठाउँदै अनुसन्धान अघि बढाएको छ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र तत्कालीन ऊर्जामन्त्री दिपक खड्काको घरमा जलेका भनिएका नोट तथा घटनास्थलको विवरण संकलन गरी विभागले छानबिन थालेको हो।

हालै प्रधानमन्त्री मातहतबाट अर्थ मन्त्रालय मातहत ल्याइएको विभागको टोलीले मंगलबार प्रचण्डको खुमलटारस्थित निवासमा पुगेर जलेका नोट र खरानी संकलन गर्दै मुचुल्का तयार पारेको थियो ।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरू प्रचण्ड निवासकै हुन् कि भन्ने आशंकामा विभागले ती सामग्रीसमेत संकलन गरी फरेन्सिक परीक्षणका लागि पठाउने तयारी गरेको छ । केही भिडियोहरू विदेशका पनि भएको प्रारम्भिक अध्ययनपछि विभागले वास्तविकता परीक्षणपछि मात्र निष्कर्ष आउने जनाएको छ ।

यसअघि विभागले देउवा र खड्काको घरमा पनि मुचुल्का तयार गरी जलेका नोटका टुक्रा र खरानी संकलन गरेको थियो । साथै, केही व्यक्तिहरूले लुटपाटमा परेका नोटका टुक्रा प्रहरीलाई बुझाएका छन् ।

यदि ती रकम जलेको प्रमाणित भएमा त्यसको स्रोत, कानूनी हैसियत र सम्भावित सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाइने विभागले जनाएको छ । अहिले प्रचण्ड र देउवा निवासमा प्रवेश रोक लगाइएको छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]