
दैलेख, ६ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुखलाई घुससहित पक्राउ गरेको छ ।
गाउँपालिकाका सातौँ तहका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर–९ मङ्गलगडी चोकबाट आइतबार राति एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको हो ।
कार्कीले गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नको अन्तिम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोग लागेको छ । पक्राउ परेका उनीविरुद्ध अनुसन्धान सुरु भएको अख्तियारको केन्द्रीय कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।