
फिलिपिन्समा बाढी नियन्त्रण परियोजनासँग जोडिएको ठूला भ्रष्टाचार काण्ड सार्वजनिक भएपछि आइतबार राजधानी मनिलामा हजारौँ नागरिक सडकमा उत्रिएका छन्।
सांसद, अधिकारी र व्यवसायीहरू संलग्न भएको भनिएको यस घोटालाप्रति आक्रोश बढेपछि ऐतिहासिक मनिला पार्कदेखि इड्सा राजमार्ग नजिकको लोकतन्त्र स्मारकसम्म प्रदर्शनहरू भएका हुन्। सम्भावित हिंसा रोक्न हजारौँ प्रहरी र सुरक्षाकर्मी तैनाथ गरिएको थियो । आयोजकहरूले यसलाई हालसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारविरोधी आन्दोलन भनेका छन् ।
संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाका दूतावासहरूले आफ्ना नागरिकलाई प्रदर्शन क्षेत्र टाढा रहन सचेत गराएका छन् ।
प्रदर्शनकारीहरूले फिलिपिन्सको झण्डा बोकेका थिए र “अब धेरै भयो, दोषीलाई जेल हाल” भन्ने नारा लगाएका थिए । विद्यार्थी नेत्री अल्थिया ट्रिनिडाडले “जनता गरिबीमा डुबिरहेका छन्, तर सांसद र अधिकारीहरूले करको पैसा दुरुपयोग गरेर विलासी जीवन बिताइरहेका छन्” भन्दै व्यवस्था परिवर्तनको माग गरिन् ।
फिलिपिन्स क्याथोलिक बिशप्स कन्फरेन्सका प्रमुख कार्डिनल पाब्लो भर्जिलियो डेभिदले शान्तिपूर्ण विरोधको आग्रह गर्दै “हाम्रो उद्देश्य लोकतन्त्रलाई बलियो बनाउनु हो, अस्थिरता सिर्जना गर्नु होइन” भने ।
आयोजकहरूले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई राजीनामा दिनुपर्ने माग भने नगरी भ्रष्ट सांसद, अधिकारी र ठेकेदारलाई मात्र कारबाही गर्नुपर्ने बताए ।
मार्कोसले यसै वर्ष राष्ट्र सम्बोधनमा प्रकरणको खुलासा गर्दै सन् २०२२ पछि सुरु भएका ९,८५५ बाढी नियन्त्रण परियोजनामध्ये धेरैमा पाँच खर्ब ४५ अर्ब पेसो )करीब ९.५ अर्ब डलर) बराबरको अनियमितता भएको जनाएका थिए । उनले स्वतन्त्र आयोग गठन गरी छानबिन अघि बढाएका छन् ।
मिडियामा धनी दम्पती सारा र प्यासिफो डिस्कायाले आफ्ना दर्जनौँ लक्जरी कार प्रदर्शन गरेपछि जनआक्रोश चर्किएको थियो । सिनेट सुनुवाइमा उनीहरूले कम्तीमा १७ सांसद र उच्च अधिकारीलाई ठेक्का दिलाउन ठूलो रकम घुस दिन बाध्य पारिएको दाबी गरेका छन् ।
यस प्रकरणले राजनीतिक भुइचालो ल्याएको छ । दुई प्रमुख सिनेटरको नामसमेत खुल्न पुगेपछि सिनेट अध्यक्ष फ्रान्सिस एस्कुडेरो र सभामुख मार्टिन रोमाल्डेजले राजीनामा दिएका छन् । कम्तीमा तीन इन्जिनियर बर्खास्त भइसकेका छन् भने थप १५ जना अनुसन्धानको दायरामा छन् । उनीहरूको सम्पत्ति, घर, कार र बैंक खाता फ्रिज गरिने जनाइएको छ ।