
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले सरकार विस्तारका लागि परामर्शलाई तीव्र पारेकी छिन् । जेन-जीले सरकारमा सामेल हुने प्रतिनिधिको नाम बुझाएसँगै मन्त्रिपरिषद् विस्तारमा गति आएको हो ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार भोलि घटस्थापनाको दिन नयाँ मन्त्रीहरुलाई सपथ गराउने गरी नाम टुंग्याउने तयारी भइरहेको छ । अधिकांश नाममा सहमति भइसकेको र एक–दुई पदमा अन्तिम निर्णय बाँकी रहेको जनाइएको छ । अन्तिम निर्णय प्रधानमन्त्री कार्कीले गर्ने बताइएको छ ।
गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन । तर जेन-जीका प्रतिनिधिसँग सहमति जुट्न ढिलाइ हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
प्रधानमन्त्रीको सचिवालयले सरकारलाई समावेशी र जेन-जीको प्रतिनिधिमूलक बनाउने प्रयास भइरहेको जनाउँदै भोलिसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेको छ । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारले महत्वपूर्ण निर्णय अघि बढाउन नसकेको पनि स्रोतले जनाएको छ ।