
काठमाडौँ, ४ असोज। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले असोज ५ गते (आइतबार) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको कुनै सुतक नलाग्ने स्पष्ट गरेको छ।
समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार आश्विन कृष्ण औँसीका दिन लाग्ने यो सूर्यग्रहणबारे धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले सोधपुछ गरेका थिए। कतिपयले श्राद्ध गर्ने कि नगर्ने, सुतक कति बजेदेखि लाग्छ भन्ने प्रश्न उठाए पनि नेपालबाट ग्रहण नदेखिने भएकाले बार्नुपर्ने नहुने र यसको कुनै दोष नलाग्ने बताइएको हो।
समितिले नेपाली आकाशमा नदेखिने ग्रहणको प्रभाव नेपालीहरूले अनुभूति गर्न नपर्ने र त्यसलाई बार्नुपर्ने धार्मिक आवश्यकता पनि नहुने जनाएको छ।
यस पटकको सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा र अन्टार्टिका लगायतका केही स्थानबाट मात्रै देखिने बताइएको छ।