२३ माघ २०८२, बिहिबार

नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई ब्याग तथा स्टेशनरी वितरण

विराटनगर  । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले विराटनगर महानगरपालिका–१९ स्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ब्याग तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजराज जमरकट्टेलको अध्यक्षता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी उपाध्यक्ष श्रीमती अनिता ढकाल अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले शिक्षा बिना मानिसको जीवन अन्धकारमय हुने उल्लेख गर्दै शिक्षा नै उज्यालो भविष्यको आधार भएको बताइन् । विद्यालयजस्तो ज्ञानको केन्द्रमा अध्ययनरत विद्यार्थीहरूलाई सानो भए पनि सहयोग गर्न पाउँदा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश गर्वान्वित भएको उनको भनाइ थियो। उनले आगामी दिनहरूमा पनि संघले परोपकारी तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जमरकट्टेलले विपन्न वर्गका विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक सामग्री उपलब्ध गराएकोमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा शिक्षक–शिक्षिका, अभिभावक, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी सचिव सृजना नेपाल दाहाल, कोषाध्यक्ष सुमित्रा अधिकारी, प्रशासन सह–सचिव यसोदा न्यौपाने, सदस्यहरू कमला ढकाल, मुना निरौला लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले “सेवा नै धर्म हो” भन्ने मूल भावनाका साथ यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]